जिल्ला हुलाक कार्यालय,नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)
वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पारु - १
हुलाक सेवाको परिचय
एक स्थानबाट अर्को स्थानसम्म चिठ्ठिपत्रद्वारा खवर आदानप्रदान गराउने माध्यमको रुपमा हुलाकको जन्म भएको इतिहास पाइन्छ । अझ प्राचीन समयमा घोडा, परेवा, वाज लगायतका पशुपंक्षीद्वारा सन्देशमूलक चिठ्ठीपत्र सम्बन्धित व्यक्ति समक्ष पुर्याइने गरिन्थ्यो भन्ने किम्वदन्ती समेत रहेको पाईन्छ । आदिमकालीन सभ्यता, लिपि आदि हेर्दा प्राचीनकालमा एक स्थानबाट अर्को स्थानसम्म चिठ्ठीपत्र, वस्तु र नगद पुर्याउने माध्यमको रुपमा हुलाकलाई प्रयोगमा ल्याइएको देखिन्छ । कुना कन्दरासम्म पहुँच र सञ्जाल रहेको र नागरिकको सबैभन्दा लोकप्रिय सञ्चारको पुरानो माध्यम हुलाक सेवा नै हो। सञ्चारको माध्यमद्वारा आपसी सद्भाव एंव भाइचारा बृद्धि गर्दै आर्थिक एंव सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ नेपालमा विक्रम संवत् १९३५ सालदेखि हुलाक सेवाको स्थापना र सञ्चालन गरिएको हो। पछिल्लो राजनैतिक परिवर्तनसँगै मुलुकले अंगिकार गरेको संघीय स्वरुपको शासकीय व्यवस्थामा हुलाक सेवाले समावेशीताको प्रबर्धन सहित नव निर्माणको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसले प्रवाह गर्दै आएका सेवाहरूमा जनचाहना प्रतिविम्वित हुनेगरी सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । समयसँगै सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तन र विकाससँगै त्यसबाट प्राप्त लाभमा नागरिकहरूको उल्लेख्य पहुँचका कारण हाम्रो हुलाकको मुख्य र आधारभूत सेवा वितरणलाई केन्द्रीत गरी बनाइएका मौजुदा संगठन संरचना र भौतिक पूर्वाधारहरूमा पर्याप्त सुधार आवश्यक भएको छ । विश्वभरीनै हुलाक सेवामा समयानुकुल परिमार्जन, सुधार र कार्यक्षेत्र विस्तार भएको छ । पछिल्ला दशकहरूमा यो ठूलो रोजगारीका अवसर श्रृजना गर्ने व्यवसायिक उद्योगका रुपमा विकसित हुदै गएको देखिन्छ। यसर्थ हाम्रो हुलाकलाई सेवा तथा व्यवसाय सञ्चालन गर्नसक्ने गरी आफ्नो सेवा प्रवाहका तौरतरिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता एकातर्फ छ भने अर्कोतर्फ आफ्नो कार्यक्षेत्रका अन्य निजी तथा वहुराष्ट्रिय कम्पनीद्वारा प्रवाहीत सेवासंग समग्र गुणस्तरीयताका मानकका आधारमा प्रतिस्पर्धी बनाउनुपर्ने अनिवार्यता भैसकेको छ। पछिल्लादिनहरूमा हुलाकलाई आधुनिक, प्रतिस्पर्धि, व्यवसायिक र प्रविधिमैत्रि बनाउन नसकिएकै कारण वितरित सेवाप्रति आम विश्वसनियतामा कमी आएको महसुस गरिएको छ । यसलाई कार्यक्षेत्रमा प्रतिस्पर्धी तुल्याउनका लागि समग्र संगठनको पुनसंरचनाको आवश्यकता छ । हुलाकको दीर्घकालीन सुधारका लागि विश्वका अन्य मुलुकहरूले हुलाक सेवामा प्रविधिको उपयोग, आवश्यकतामा आधारित नवप्रवर्तन र प्रतिस्पर्धा जस्ता मुल्यलाई आत्मसात गरेका छन्। यस सन्दर्भमा हुलाक चिठ्ठीपत्र ओसारपसार गर्ने माध्यममात्रै हो भन्ने परम्परागत सोचाईमा परिवर्तन ल्याई हुलाक कार्यालयले प्रदान गरेको सेवामा विविधता र कार्यशैलिमा सुधार अपरिहार्य छ । बर्तमान संवैधानिक व्यवस्था अनुसार संघ अन्तर्गतको सांगठनिक संरचनामा रहेको हुलाक सेवा सञ्चालन तथा व्यवस्थापनका लागि कार्यान्वयनमा रहेका कानूनहरूको समसामयिक परिमार्जन/संशोधन र थप सेवा सञ्चालनका लागि द्द आवश्यक पर्ने नीति र कानूनहरूको तर्जुमा, भौतिक पूर्वाधार, मानव संशाधन र श्रोत व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेका छन्। यसको समुचित व्यवस्थापनका लागि हुलाक सेवा विभाग अनवरत रुपमा प्रयासरत छ ।
विभागको स्वरुप र प्रकृति
स्वदेशभित्र र विदेशमा समेत हुलाक वस्तुको आदानप्रदान गराउने मुख्य र जिम्मेवार निकाय हुलाक सेवा विभाग हो । मुलुकभर हुलाक सेवाको सञ्चालन र व्यवस्थापन गर्ने केन्द्रीय निकायको रुपमा रहेको यस विभागले हुलाक सम्बद्ध ऐन, कानून, नीति नियमहरूको निर्माण/परिमार्जन गर्न सहयोगी भूमिका खेल्दै आएको छ। विश्व हुलाक संघ तथा एसिया प्यासिफिक हुलाक संघको सदस्य राष्ट्रका हैसियतले हुलाक सेवाको व्यवस्थापनमा मुलुकले निर्वाह गर्नुपर्ने दायित्वको परिपालना र अवसरको उपयोग गर्दै समय सापेक्ष हुलाकबस्तुको आदानप्रदानलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो बनाउने कार्य गर्दै आएको छ । विभागको महत्वपूर्ण कार्य भित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाँक आदानप्रदानलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक नीतिको तर्जुमा, कार्यान्वयन, प्रशासन तथा अनुगमन गर्ने कार्य गर्दै आएको छ। हुलाक वस्तुको प्राप्ती, ढुवानी र वितरणको कार्यमा समय तथा लागत घटाउने कार्य र सेवाप्रवाहको प्रभावकारिता बृद्धितर्फ जोड दिँदै कार्यसञ्चालन गर्न मातहतका कार्यालयलाई परिचालन गर्दै आएको छ । आफू र मातहतका कार्यालयहरूले सञ्चालन गर्ने कार्यहरूमा विशिष्टिकरण गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन हरेक कार्यालयहरूमा कामको आवश्यक विश्लेषण गरी कार्यगत संगठनात्मक कार्यढाँचा अवलम्वन गरिएको छ । सेवाग्राहीमैत्री घ व्यवहारको माध्यमबाट मुलुकको आन्तरिक श्रोत परिचालनमा बढोत्तरी ल्याउने प्रमुख ध्येयका साथ सरल, सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गरी सुशासन प्रवर्धनमा टेवा पुर्याउने दिशातर्फ विभाग प्रयासरत छ ।
कार्यालयको परिचय:
जिल्ला हुलाक कार्यालय, नवलपरासी (ब.सु.प.) हुलाक सेवा सम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं. २०३२ साल जेठ २ गते स्थापना भएकोसरकारी सेवा प्रदायक निकाय हो।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपाल सरकार तथा मन्त्रिपरिषदको मिति २०८०/१०/२५ को निर्णयानुसार स्वीकृत भएको हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण २०८० बमोजिम स्वीकृत नयाँ संगठन संरचना तथा दरबन्दीसहित हुलाक सेवा सम्बन्धी कार्यहरु गर्ने उद्देश्यले वि.सं. २०८१ श्रावण १ गते देखि नयाँ संरचना अवलम्बन गरेको सरकारी सेवा प्रदायक निकाय हो । नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन संघीय तहमा विभाजन गरेको सन्दर्भमा हुलाक सेवा तथा कार्यालयहरु संघीय सरकारको दायित्व अन्तर्गत पर्दछन् । यस कार्यालय अन्तर्गत ६ वटा पालिका हुलाक कार्यालयहरु, २५ वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालित छन् । जिल्लाहलाककार्यालय नवलपरासी(ब.सु.प.)ले चिठीपत्र एवं पार्सलहरु ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्रयाकिङ्ग प्रणाली (PITS) सञ्चालन कार्यहरु सम्पादन गर्दै आईरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरुमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरुको नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरुप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी समेत गर्न कार्य गर्ने गर्दछ ।